Sagun Khabar
बैतडीमा भन्सार छलीका सामग्री बरामद 

बैतडी–बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार ७४ हजार १५५ रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 

Atrya hospital

बैतडीको दशरथचन्द नगरपालिका–१० अदरपिण्डस्थित सडक किनार र दशरथचन्द नगरपालिका–६ सेराबाट वेवारिसे अवस्थामा रहेको भन्सार छलीका सामग्री बरामद गरिएको उनले बताए । 

भारतबाट अवैध रुपमा ल्याइएको चिनी, मिश्री, दाल लगायतका खाद्यान्न सामग्री, सूर्तीजन्य पदार्थ, बिँडी, लत्ताकपडा बरामद गरिएको उनले बताए । बरामद गरिएको अवैध सामग्रीलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

यसअघि प्रहरीले सोमबार पनि ७३ हजार ५ सय रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको थियो । 

महाकाली नदीमा जलस्तर घटेपछि डुंगाबाट समेत अवैध सामग्री भित्रिने भएकाले प्रहरीले गस्ती बढाएको प्रहरी निरीक्षक ढुंगानाले बताए । चाडपर्वको समयमा भारतबाट अवैध रुपमा भन्सार छलेर सामान ल्याउन सक्ने भएकाले प्रहरीले निगरानी बढाएको छ । 

भन्सार छलीका सामग्री भित्रिन सक्ने सम्भावित स्थानहरुमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चालु आर्थिक बर्षको अहिलेसम्म बैतडीमा १ लाख ७२ हजार ७५५ रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामग्री बरामद गरिसकिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update