Sagun Khabar
बैतडीमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने, कुन पालिकामा कहिले ? 
फाइल फोटो

बैतडी–बैतडीमा कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

बैतडीमा यही कार्तिक ९ गतेदेखि २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

Atrya hospital

यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिइने उनले बताए । 

जिल्लाभरीका १४८ खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन हुने बताइएको छ । जिल्लाका ८४ ओटै वडामा खोप अभियान सञ्चालन हुनेछ । अभियानका लागि एक खोप केन्द्रमा एकजना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाइने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

बैतडीका १० ओटा स्थानीय तहमध्ये ५ ओटामा तिहारभन्दा अगाडि खोप अभियान सञ्चालन हुनेछ भने ५ ओटामा तिहारपछि खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

जिल्लाको पुर्चौंडी नगरपालिकामा कार्तिक ९ देखि १३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ भने दोगडाकेदार गाउँपालिकामा कार्तिक ९ गतेदेखि १४ गतेसम्म अभियान सञ्चालन हुनेछ । यस्तै मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्तिक ११ र १२ गते खोप अभियान सञ्चालन हुनेछ । 

यस्तै पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कार्तिक २६ र २७ गते खोप अभियान सञ्चालन हुने तय भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लामा खोप अभियान सञ्चालन गर्नका लागि १४ हजार ४ सय डोज खोप पुगिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडबाट बच्नका लागि एकमात्रै उपाय खोप भएकाले अभियान सञ्चालन भएका बेला नजिकका खोपकेन्द्रमा गएर खोप लगाउन आग्रह समेत गरिएको छ ।   
 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update