बैतडी –बैतडीजस्ता मध्य पहाडी क्षेत्रमा किसानहरु गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन् । लेकाली क्षेत्रमा किसानहरुले लगभग गहुँ छरिसकेका छन् भने बेँसी क्षेत्रमा मंसिर दोश्रो साता सम्म गहुँ छर्ने गरिएको छ ।
खेतलाई खनजोत गरेर गहुँ छर्ने तयारी भइरहेको दशरथचन्द नगरपालिका १ का अगुवा किसान कृष्णदत्त भट्टले जानकारी दिए । सिँचाइको सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको उनले बताए । उनले भने ‘चिसो ठाउँमा कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरु भएको छ । किसानहरु अहिले गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन् ।’
लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको सुर्नया ६ का मुरलीप्रसाद अवस्थीले बताए । कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको उनले बताए ।
गहुँ छर्दा पहिला खेतलाई खनजोत गरेर गोबरमल हालेर छर्नुपर्ने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए । कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबरमल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको उनले बताए । गोबरमललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुने चौधरीले बताए । गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्ने उनले बताए ।
गहुँ छर्दा उन्नत जात र सुख्खा सहन सक्ने जातको बीउ प्रयोग गर्दा उपयुक्त हुने चौधरीले बताए । बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको र त्यही उपयुक्त हुने उनले बताए ।
बैतडीमा १५ हजार ४ सय हेक्टर क्षेत्रफमा गहुँ खेती गरिने भएपनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ ।