Sagun Khabar
बैतडीमा कोभिड –१९ विरुद्धको खोप अभियान शुरु 

बैतडी–बैतडीमा कोभिड –१९ विरुद्धको खोप अभियान आजदेखि शुरु भएको छ । 

बैतडीका दुईओटा पालिकामा आजदेखि खोप अभियान शुरु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा आजदेखि खोप अभियान सञ्चालन भएको हो । पुर्चौंडी नगरपालिकामा यही कार्तिक १३ गतेसम्म अभियान सञ्चालन हुनेछ भने दोगडाकेदार गाउँपालिकामा यही कार्तिक १४ गतेसम्म अभियान सञ्चालन हुनेछ । 

पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरु र खोपकेन्द्रमार्फत कोभिड–१९ विरुद्धको फाइजर खोप दिने कार्य शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले बताए । 

Atrya hospital

कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

बैतडीमा आजदेखि यही कार्तिक २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।

यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिइने उनले बताए । 

खोप अभियान सञ्चालनका लागि जिल्लाभरी १ सय ४८ ओटा खोपकेन्द्र तोकिएका छन् । अभियानका लागि एक खोप केन्द्रमा एकजना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटिने  स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 
जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्तिक ११ र १२ गते खोप अभियान सञ्चालन हुनेछ । 

५ ओटा पालिकामा तिहारपछि खोप अभियान सञ्चालन गरिनेछ । पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कार्तिक २६ र २७ गते खोप अभियान सञ्चालन हुने तय भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 

जिल्लामा खोप अभियानका १४ हजार ४ सय डोज खोप रहेको छ । कोभिडबाट बच्नका लागि एकमात्रै उपाय खोप भएकाले अभियान सञ्चालन भएका बेला नजिकका खोपकेन्द्रमा गएर खोप लगाउन आग्रह समेत गरिएको छ ।   
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update