Sagun Khabar
आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै, किसानले छाडे हल गोरु पाल्न 

बैतडी –पछिल्लो समयमा बैतडीमा किसानहरुले हल गोरु पाल्न छोडेका छन् । खेतबारी जोत्नका लागि प्रत्येक घरमा एक हल गोरु पाल्ने चलन रहेको भएपनि पछिल्लो समयमा आधुनिक कृषि उपकरणको प्रयोगसंगै त्यो चलन हटेको छ । 

खेतीको समयमा मिनि टिलर, ट्याक्टर जस्ता आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको सुर्नया गाउँपालिका ६ का नवराज अवस्थीले बताए । धेरै जसोको घरमा आजभोली गोरु नभएको उनले बताए । समथर किसिमको जमीन ट्याक्टर र केही भिरालो किसिमको जमीनमा मिनि टिलरको प्रयोग गरेर खेत जोत्ने गरिएको उनले बताए । 

Atrya hospital

बर्षभरी गोरु पालेर खेतबारी जोत्ने समयमा मात्रै काम लाग्ने भएकाले गोरु पाल्नुभन्दा आधुनिक कृषि औजारबाट खेतबारीको काम गर्न सजिलो भएको कतिपय किसानहरुको भनाइ रहेको छ । आधुनिक कृषि उपकरणहरुले खेत जोत्न सहज हुने भएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको दशरथचन्द नगरपालिका –१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । उनले भने ‘समान्य खर्चमै कृषि औजारहरुको प्रयोग गरेर खेतबारी जोत्न सकिन्छ । गोरु पाल्ने झण्झट भन्दा कृषि औजारको प्रयोग सहज हुने गर्दछ ।’

पछिल्लो समयमा गाउँगाउँमा मिनिटिलरले खेत जोत्ने गरिएको दशरथचन्द नगरपालिका ९ का स्थानीय विरेन्द्र ओझाले बताए । खेतीपातीको समयमा गोरु जोत्ने गरेकोमा अहिले मिनिटिलरले खेत जोत्ने गरेको उनले बताए । उनले भने ‘अहिले गाउँमा गोरु पाल्ने चलन लगभग हटिसकेको छ । धेरैजसोसंग खेत जोत्नका लागि मिनिटिलर छ । मिनि टिलरले खेत जोत्ने चलन बसीसकेको छ ।’

आधुनिक कृषि औजारहरुले किसानहरुको कार्यबोझ समेत घटाएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको पाटन नगरपालिकाको कृषि शाखामा कार्यरत महेश अवस्थीले बताए । कृषि औजारहरुले किसानहरुलाई सजिलो भएकाले यसको प्रयोग बढ्दै गएको उनले बताए । उनले भने ‘खेत जोत्नका लागि अहिले मिनिटिलरको व्यापक प्रयोग हुन थालेको छ । कृषि यन्त्रहरुमा किसानहरुको आकर्षण बढेको छ । यसले किसानहरुको कार्यबोझ समेत घटाएको छ ।’

कृषि औजार तथा उपकरणमा विभिन्न सरकारी कार्यालयहरुले अनुदान दिँदै आएका छन् । कतिपय स्थानीय सरकारहरुले समेत कृषि उपकरण खरीदमा अनुदान दिने गरेका छन् । 

कृषि ज्ञान केन्द्र र मकै जोन लगायतका कार्यालयहरुले हरेक बर्ष कृषि उपकरण खरीदमा अनुदान दिँदै आएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ दार्चुला, प्राविधिक जोन इकाइ बैतडीले किसानहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराउँदै आएको छ । 
मकै जोन र तरकारी जोन क्षेत्रका किसानहरुलाई मागको आधारमा मिनि टिलर लगायतका उपकरणहरुमा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरिएको इकाइकी प्रमुख भावना जोशीले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update