Sagun Khabar
बैतडीमा लागू औषध ओसारपसारमा २३ जना पक्राउ

बैतडी– बैतडीमा तीन बर्षको अवधिमा लागु औषध ओसारपसार गर्नेको सङ्ख्या २३ जना पुगेको छ । आर्थिक बर्ष २०७९/८० देखि चालू आर्थिक बर्षको हाल सम्मको विवरण हेर्दा लागु औषध ओसारपसार गर्नेको सङ्ख्या २३ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकअनुसार आर्थिक बर्ष २०७९/८० मा १४ जना , आर्थिक बर्ष ८०/८१ मा ४ जना र चालु आर्थिक बर्षको साउन देखीको तथ्यांकअनुसार ५ जना गरि तीन बर्षको अबधिमा २३ जनालाई पक्राउ गरि मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रबक्ता प्रहरी निरीक्षक जनक राज ढुंगानाले बताए ।

कुलतमा फसेका दुर्व्यसनीहरुले गाजा, चरेस, ब्राउन सुगर, फेन्सी डिल, टिडिजिसी लगायतका लागुऔषधहरु प्रयोग गर्ने गरेको प्रहरीले दिएको तथ्याङ्कबाट पुष्टि भएको छ ।  गाजा चरेस छिमेकी जिल्ला बझाङ र दार्चुलाबाट ल्याउने गरेको भए पनि ब्राउन सुगर बाहेक, फेन्सी डिल, टिडिजिसी लगायतका लागु औषध भारतमा निर्बाध रुपमा विक्री वितरण हुने भएकोले लागु औषध कर्ताले ब्राउन सुगर, फेन्सी डिल, टिडिजिसी लगायतका लागु औषध भारतको बाटो भएर नेपाल भित्र्याउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । स्पासमो, फेन्सी डिल र टिडिजिसी लगायतका लागू औषध नेपालमा डाक्टरले सिफारिस गरेको बिरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि भए पनि  यसलाई अहिले युवा पुस्ताले आगुऔषधको रुपमा प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रबक्ता प्रहरी निरीक्षक ढुंगानाले बताए ।

Atrya hospital

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकअनुसार लागु औषध सेवन र ओसारपसार मा युवा पुस्ता बढी सक्रिय रहेको देखिएको  छ । प्रहरीको तथ्यांकअनुसार तीन बर्षको अबधिमा लागु पदार्थ सेवन र दुर्व्यसनीमा ५० देखी एक सय जना युवा पक्राउ परेका छन । मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउने गरेकोले यसबाट बच्न हरेक क्षेत्रबाट जनचेतना फैलाउन आवश्यक रहेको बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक पृथ्वी राज अवस्थीले बताए ।

पछिल्लो समय युवा पुस्तामा देखिएको लागू औषध  दुर्व्यसन रोक्न लागुपदार्थको प्रयोगबाट देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको बारेमा जनचेतना फैलाउने र स्कुलदेखिको पाठ्यक्रममा नै लागुऔषधको प्रयोगबाट हुने असरको बारेमा शिक्षा दिन आवश्यक रहेको प्राध्यापक अवस्थीले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update