बैतडी - बैतडीको पुर्चौडी नगरपालिका हाटमा रहेको इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको छ। कायम मुकायम कार्यालय प्रमुख नन्द राज पन्तको गत साउनमा सरुवा भएपछि चालु आर्थिक बर्षको साउन महिनाको पहिलो साता देखि इलाका प्रशासन कार्यालय पुर्चौडी कार्यालय प्रमुखविहीन भए पछि सेवाग्राही समस्यामा परेका छन ।
बि.स २०७३ साल असार ०५ गते स्थापना भएको इलाका प्रशासन कार्यालय पुर्चौडीले सार्वजनिक सेवा प्रवाह अन्तर्गत जिल्लाको साविकको ११ वटा गाउं विकास समिति र हालको पुर्चौडी नगरपालिकाको १० वटा वडा र डिलासैनी गाउंपालिकाको ४ नम्बर वडा मठैराजलाई सेवा प्रवाह गरिरहेको भए पनि कार्यालय प्रमुख नहुदा समस्या भएको इलाका प्रशासन कार्यालय पुर्चौडीका सहायक कम्प्युटर अपरेटर बोम बहादुर खत्रीले बताए । पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकाका स्थानीयहरुले घर नजिकै बाट सेवा पाइरहेका भए पनि अहिले इलाका प्रशासन कार्यालय पुर्चौडीमा कार्यालय प्रमुख नहुदा नागरिकता बनाउन आउने सेवाग्राहीलाई कार्यालय प्रमुख नभएको र आफुलाई नागरिकतामा हस्ताक्षर गर्ने अधिकार नभएको सुझाउदै फर्काउने गरेको सहायक कम्प्युटर अपरेटर खत्रीले बताए ।
इलाका प्रशासन कार्यालय पुर्चौडी कार्यालय प्रमुख बिहिन हुँदा अहिले स्थानीय नागरिकहरुले नागरिकतालगायत त्यहाँबाट हुने कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता आएको स्थानीय ज्ञान सिँह भण्डारीले बताए । अहिले इलाका प्रशासन कार्यालय पुर्चौडी हाकिम बिहिन भएकाले कार्यालय बाट सेवा बन्द भए पछि स्थानीय नागरिक नागरिकता लिन सदरमुकाम धाउनु पर्ने पुरानै अवस्था फर्केको अर्का स्थानीय सुदन धानुकले बताए ।
निरन्तर सेवा प्रवाह गरिरहेको इलाका प्रशासन कार्यालय पुर्चौडीमा अहिले कार्यालय प्रमुख नभएपछि समस्या आएको हो । कर्मचारीको समायोजनपछी सरुवा भएका तत्कालीन कार्यालय प्रमुख नन्द राज पन्तको सरुवा पछि इलाका प्रशासन कार्यालयले प्रमुख पाउन नसक्दा समस्य भएको र तत्काल कार्यालय प्रमुख पठाउन सकिने अवस्था नभएकाले कार्यालय प्रमुखको लागि पहल गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्यायले बताए ।
इलाका प्रशासन कार्यालय स्थापना भएको सुरुदेखि नै कर्मचारी अभाव रहेको इलाका प्रशासन कार्यालय अहिले हाकिम बिहिन हुदा झन समस्या भएको हो ।