बैतडी –बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४)मा आज फाइनल खेल हुँदैछ । उपाधिका लागि कोइनाडा टीम गुरुखोला लायन्स र पाटन भ्याली क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
गुरुखोला लायन्सले अपराजित रहँदै फाइनलको यात्रा तय गरेको हो । सेमिफाइनलमा आयोजक पाटन क्रिकेट क्लबलाई पराजित गर्दै गुरुखोलाले फाइनलमा स्थान सुरक्षित गरेको छ ।
यस्तै पाटन भ्याली पञ्चेश्वर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको हो ।
यी दुवै टीमबीचको फाइनल खेल आज बिहान १० बजेदेखि श्रीकृष्ण मावि पाटनको खेलमैदान हुने आयोजकले जनाएको छ ।
असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा १७ टीमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए ।
द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज बाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।