बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा १ हजार जनाले कोभिड –१९ विरुद्धको फाइजर खोप लगाएका छन् । गाउँपालिकामा यही कार्तिक ११ र १२ गते सञ्चालन भएको खोप अभियान अन्तर्गत ८ ओटै वडाका विभिन्न खोपकेन्द्रमार्फत १ हजार २ जनाले कोभिड विरुद्धको खोप लगाएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
सुर्नयामा १८ ओटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भएको थियो । कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि जिल्लाभरी खोप अभियान सञ्चालनमा रहेको र सोही अनुसार सुर्नयामा खोप अभियान सञ्चालन भएको उनले बताए ।
कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । जिल्लामा यही कार्तिक २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको उनले बताए ।
यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिइएको महराले बताए । गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिइएको उनले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप अभियान सम्पन्न भइसकेको छ । यी पालिकाहरुमा तिहार अघि नै खोप अभियान सञ्चालन गर्ने तय भएको थियो ।
खोप अभियान सञ्चालनका लागि जिल्लाभरी १ सय ४८ ओटा खोपकेन्द्र तोकिएका छन् । अभियानका लागि एक खोप केन्द्रमा एकजना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटिने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।
बैतडीका ५ ओटा पालिकामा तिहारपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कार्तिक २६ र २७ गते खोप अभियान सञ्चालन हुनेछ भने दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।