कञ्चनपुर –कञ्चनपुरमा एकैदिन २३ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानमा जुवा खेलीरहेका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१ बराकुण्डास्थित रौटेला खोला किनारको झाडी भित्र जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–४ बस्ने २९ वर्षीय राजेन्द्रबहादुर शाहसहित १३ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ४ लाख ७४ हजार ९८ रुपैयाँ र १४ गड्डी ताससहित पक्राउ गरिएको हो ।
बेदकोट नगरपालिका–७ सुडा स्थित ३९ वर्षीय अमरसिंह धामीले संचालन गरेको न्यु हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामीसहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई नगद २६ हजार २५० रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी दोधारा चाँदनी नगरपालिका–१ भुमीराज टोलस्थित सुरेश गिरीको घरबाट सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सुनारसहित ६ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले नगद २५ हजार १७५ रुपैयाँ र १ गड्डी ताससहित पक्राउ गरिएको हो ।
बुधवार पक्राउ परेका २३ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।