बैतडी–बैतडीमा देउसी–भैलो खेल्ने क्रममा लडेर दुई बालक घाइते भएका छन् ।
८ जनाको समूहमा रहेका मध्ये दुईजना बालक लडेर घाइते भएका हुन् ।
घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं सौडेनीका ११ बर्षीय नितिन लावड र १३ बर्षीय महेन्द्र लावड रहेका छन् ।
नितिनको टाउकोमा चोट लागेको र उनको कानबाट समेत रगत बगिरहेको छ भने महेन्द्रको टाउको र शरीरमा चोट रहेको छ ।
सतबाँझबाट फर्कने क्रममा दशरथचन्द राजमार्ग अन्तर्गत मुस्याचौर–सतबाँझ सडकखण्डको किनारबाट बिहीबार दिउँसो साढे ३ बजेतिर उनीहरु दुवै जना लडेर घाइते भएका बताइएको छ । काँधमा डिजे बोकेर आउने क्रममा एक्कासी महेन्द्र लावड लडेका र उनलाई समात्न खोज्दा नितिन पनि लडेका बताइएको छ ।
घाइते दुवै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।