बैतडी –बैतडीको शाहीलेकमा रामलीला महायज्ञ सञ्चालन हुने भएको छ । रामलीला आयोजक समिति शाहीलेकको आयोजनामा यही कार्तिक २३ गतदेखि रामलीला महायज्ञ सञ्चालन हुने समितिका संयोजक जनकराज भट्टले जानकारी दिए ।
समाजमा नैतिकता र मार्यादाको पाठ सिकाउनका लागि महायज्ञको आयोजना तयारी गरिएको उनले बताए ।
भगवान रामचन्द्रले मानिसको रुप धारण गरेर समाजमा निष्ठा र सत्यताको पाठ सिकाएको र सोही पाठ आमजनमानसमा पुर्याउनका लागि रामलीला महायज्ञ सञ्चालन गर्ने तयारी भएको समितिका सदस्य महेशदत्त भट्टले बताए ।
रामलीला महायज्ञमा अभिनय गर्ने कलाकारहरुको तालिम अन्तिम चरणमा पुगेको बताइएको छ । विरेन्द्र मावि शाहीलेकमा पात्रहरुका लागि तालिम सञ्चालन भइरहेको छ भने महायज्ञ पनि विरेन्द्र माविकै प्रांगणमा सञ्चालन हुने संयोजक भट्टले बताए ।
रामलीला नाटकमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि रामलीला महायज्ञ आयोजनाको तयारी भएको बताइएको छ ।
मार्यादा पुरुषोत्तम रामचन्द्र भगवानको जीवनगाथामा आधारित नाटक भएकाले यसबाट मानिसलाई धेरै कुराको सिकाइ हुने उनले बताए । राम्रो काम गरे राम्रो फल प्राप्त हुन्छ र नराम्रो कामको नराम्रो फल प्राप्त हुन्छ भन्ने सन्देश प्रवाह गर्न रामलीला महायज्ञले सहयोग पुर्याउने भट्टले बताए ।
यसअघि दशरथचन्द नगरपालिका वडा नं ६मा कालिका सांस्कृतिक समाज थालीगडाले समेत रामलीला महायज्ञको आयोजना गरेको थियो ।