बैतडी–बैतडीमा गुडिरहेको बसले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् ।
जिल्लाको पाटन नगरपालिका–८ धारीकी ३० बर्षीया शान्ति महरालाई खोड्पे चौराहामा शुक्रबार दिउँसो १ बजेतिर बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पञ्चेश्वरबाट कञ्चनपुरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १२४९ नम्बरको बसको पछाडीको डिग्गीको ढोकाले ठक्कर दिँदा उनी टायरमुनी परेकी थिइन् । गुडिरहेको बसको टायरले च्यापिँदा महराको दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।
घाइते महरालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । सामान किनमेलका लागि महरा खोड्पे पुगेकी बताइएको छ ।
बस चालक मेलौली नगरपालिका– १ देहीका विरेन्द्रसिंह नायकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।