Sagun Khabar
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जित

बैतडी –नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय  राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ । पहिलो खेलमा कर्णाली प्रदेशलाई,  दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै सुदूरपश्चिमले तेस्रो जित निकालेको हो । 

सुदूरपश्चिमले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३.४ ओभरमा १०८ रनमा अलआउट भयो । मधेशका मयन यादवले सर्वाधिक ४७ रन जोडे ।  सुदूरपश्चिमका नरेन साउदले ४, कप्तान हेमन्त धामी र सचिन भट्टले २÷२ विकेट हात पारे । 

Atrya hospital

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो । जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे । 

मधेसका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे । जितसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ। मधेश भने चौथो स्थानमा छ ।

यही कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update