बैतडी–तिहारको समयमा बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा खेलिने मौलिक ‘भैलो’हराउँदै गएको छ । तिहारको पाँचदिन धुमधामसंग भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । देउसी र भैलो फरक रहेको बताउँदै लेखकले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भैलो खेल्ने चलन रहेपनि यो लोप हुने अवस्थामा पुगेको बताए ।
मौलिक शब्द,लय र भाकामा गाइने भैलो प्रायः लोप भइसकेको उनले बताए । भैलो भट्याउने एकजना हुने र अरुले भैलो भन्दै गाउने प्रचलन रहेको भएपनि अहिले भैलो लोप हुने अवस्थामा पुगेको उनले बताए । उनले भने ‘पछिल्लो समयमा भैलो लोप हुन थालेको छ । भैलो गाइने आशिषका शब्दहरु सुनिन छोडेका छन् । संस्कृतिसंग जोडिएका यस्ता कुराहरु लोप हुनु निकै दुखद कुरा हो ।’
तिहारलाई स्थानीय भाषामा ‘दुत्या’भन्ने चलन रहेको र दुत्यामा भैलो खेल्ने चलन रहेको छ । तर पछिल्लो समयमा भैलो खेल्ने चलन विस्तारै हराउँदै गएको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए । मौलिक भैलो जोगाउनका लागि युवा पुस्ताहरुको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
स्थानीय भाषामै गाइने भैलो अहिले लगभग लोप भइसकेको दोगडाकेदारका स्थानीय इन्द्रदेवशरण भट्टले बताए । पछिल्लो समयमा डिजेबाटै बजाएर देउसी भैलो खेल्न चलन आइसकेको उनले बताए । मौलिक शब्द र भाषाको भैलो सुनिन छोडेको उनले बताए ।
पहिला पहिला लक्ष्मी पूजापछि घरघरमा गएर भैलो खेल्ने चलन रही आएको थियो । अहिले पनि देउसी भैलो खेल्ने गरिएको छ तर त्यसमा मौलिक भैलो भने गाउन छोडेको भट्टको भनाइ छ ।
धेरैलाई बैतडीमा गाइने मौलिक भैलोको बिषयमा जानकारी समेत नभएको स्थानीय संस्कृतिका जानकार लेखकले बताए । देउसी भैलो खेलेपनि अहिले युट्युबाट बजाएर भैलो खेल्न गरिएको उनले सुनाए । उनले भने ‘पछिल्लो समयमा यो क्षेत्रमा खेलिने मौलिक भैलो लोप हुन थालेको छ । यो बिषयमा कसैको चासो समेत छैन् ।’
तिहारमा खेलिने भैलो यो क्षेत्रमा तिहारमा मात्रै सीमित नभएर कार्तिक शुक्ल पक्षभरी शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राहरुमा समेत खेल्न गरिन्छ । धेरैजसो शक्तिपीठ तथा मन्दिरहरुमा कार्तिक शुक्ल पक्षमा लाग्ने जात्राहरुमा भैलो खेल्ने चलन रही आएको छ । देवीदेवताका जात्राहरुमा भैलो खेलेर देवीदेवताको पूजाआजा गर्ने चलन समेत रही आएको छ ।
मौलिक संस्कृतिका हरेक पक्ष लोप हुँदै गएकाले यसको संरक्षणका लागि युवा पुस्ताको ध्यान जानुपर्नेमा भट्टले जोड दिए । संस्कृति मानव जीवनको मार्गदर्शन भएकाले सांस्कृतिक पक्षहरुको संरक्षणमा युवा पुस्ता लाग्नुपर्नेमा उनले जोड दिए ।