बैतडी–बैतडीका ५ ओटा पालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान सम्पन्न भएको छ । यही कार्तिक ९ गतेदेखि शुरु भएको खोप अभियान अन्तर्गत पाँच ओटा पालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान सम्पन्न भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका,दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सम्पन्न भएको हो ।
पुर्चौंडी नगरपालिकामा कार्तिक ९ देखि १३ गतेसम्म अभियान सञ्चालन भएको थियो दोगडाकेदार गाउँपालिकामा कार्तिक ९ देखि १४ गतेसम्म अभियान सञ्चालन भएको थियो ।
यस्तै मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा यही कार्तिक ११ र १२ गते कोभिडविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।
मेलौली नगरपालिकामा ६ सय ७९ महिला र ३ सय ६७ पुरुष गरेर १ हजार ४६ जनाले कोभिडविरुद्धको खोप लगाएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए ।
यस्तै सुर्नया गाउँपालिकामा ५ सय ३९ महिला र ५ सय ११ पुरुष गरेर १ हजार ५० जनाले कोरोनाविरुद्धको फाइजर खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा ६ सय ४५ महिला र ३ सय ८१ पुरुष गरेर १ हजार २६ जनाले कोभिडविरुद्धको खोप लगाएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए ।
यसैगरी दोगडाकेदार गाउँपालिकामा ६ सय ११ महिला र ६ सय १६ जना पुरुष गरेर १ हजार २२७ जनाले खोप लगाएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।
पुर्चौंडी नगरपालिकामा खोप अभियान सम्पन्न भएपनि तथ्यांक आउन बाँकी रहेको र तिहारपछि मात्रै खोप लगाउनेको तथ्यांक आउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले बताए ।
जिल्लाका पाँचओटा स्थानीय तहमा तिहारपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।