Sagun Khabar
बैतडीको डिलाशैनीमा बौलाहा कुकुरको टोकाइबाट सात जना घाइते 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका वडा नं –१ मा बौलाहा कुकुरको टोकाइबाट सात जना घाइते भएका छन् । 

वडा नं १ को डोरेपानी र रामलामा बौलाहा कुकुरले सात जनालाई टोकेको रामलाका स्थानीय जयानन्द भट्टले बताए । 

हिजो र आज गरेर बौलाहा कुकुरले सात जनालाई टोकेको हो । उक्त कुकुर बझाङको बुंगलबाट आएको बुझिएको छ । 

Atrya hospital

बौलाहा कुकुरको टोकाइबाट वडा नं १ डोरेपानीका लीला राना, महेश राना, खुइले राना, लक्ष्मी राना, रमेश राना र नारायण राना घाइते भएका छन् भने रामलाका भानदेव भट्ट पनि कुकुरको टोकाइबाट घाइते भएका छन् । 
रमेश र नारायणलाई बौलाहा कुकुरले आज बिहान टोकेको हो भने अरुलाई हिजो टोकेको स्थानीय नारायण रानाले बताए । 

यस्तै बौलाहा कुकुरले रामलाका स्थानीय जयानन्द भट्टले पालेका एक खसी र एक बाख्रालाई समेत टोकेको छ । 

बौलाहा कुकुरलाई स्थानीयहरुले घेरा हालेर मारिदिएका छन् । 

बौलाहा कुकुरको टोकाइबाट घाइते भएका सात जनामध्ये पाँच जनाले गोकुलेश्वर अस्पतालमा आएर रेबिजविरुद्धको खोप लगाएका छन् । दुईजनाले खोप लगाउन बाँकी रहेको बताइएको छ । 

यस्तै बौलाहा कुकुरको टोकाइबाट घाइते भएका खसी र बाख्राका लागि रेबिजविरुद्धको खोप पठाइसकेको डिलाशैनी गाउँपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख शंकरबहादुर साउँदले बताए । 

बौलाहा कुकुरको टोकाइबाट मानिसमा रेबिज सर्न सक्ने भएकाले जतिसक्दो चाँडो रेबिजविरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update