बैतडी –पछिल्लो समयमा बिभिन्न ठाउँका साना ठूला झरना सामाजिक सञ्जालमा भाइरल भईरहँदा बैतडीको पाटन नगरपालिका वडा न.८ खोडपे नजिकै रहेको सिद्धनाथ झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
सिद्धनाथ मन्दिरको छेउमै रहेको झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय गंगादत्त भट्टले बताए । उनले भने ‘प्राचीन सिद्धनाथ मन्दिरको छेउमै लोभलाग्दो झरना छ । सिद्धनाथ मन्दिरमा पूजाआजा गर्दा सो झरनाको पानीले स्नान गर्ने चलन समेत रही आएको छ । तर प्रचारप्रसार नहुँदा झरना ओझेलमा परेको छ ।’
सिद्धनाथ झरना प्राकृतिक र धार्मिक दुवै दृष्टिकोणले महत्वपूर्ण रहेको भट्टले बताए । सो ठाउँमा सिद्धभगवती, सिद्धनाथ र गोफाकेदारको मन्दिर समेत रहेको उनले बताए । परापूर्वकालमा ओखलेश्वर महादेवमा गरिएको पूजा सिद्धनाथ झरना सम्म आइपुग्ने गरेको किम्बदन्ती रहेको भट्टले बताए ।
सिद्धनाथ झरनासंगै रहेको मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने रही आएको छ । सो ठाउँमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय ज्ञानेन्द्रप्रसाद भट्टले बताए ।
दशरथचन्द राजमार्ग अन्र्तगत खोड्पेको छेवैमा रहेको झरनाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । धार्मिक र प्राकृतिक दुवै हिसाबले महत्वपूर्ण यो झरनाका बिषयमा स्थानीय सरकार समेत अनभिज्ञ रही आएको छ । ‘स्थानीय सरकारले यसको प्रचारप्रसारमा ध्यान दिन सकेमा धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । आन्तरिक पर्यटकहरुका लागि पनि यो उपयुक्त गन्तव्य हुन सक्छ ।’भट्टले भने
सिद्धनाथ मन्दिरमा हिन्दू परम्परा अनुसार विवाह ब्रतबन्ध गर्ने चलन रही आएको छ । तर बाटोघाटो असुविधाले सबै त्यहाँ पुग्न नसकेको स्थानीय रमेश महराले बताए । सिद्धनाथ झरना नजिकै धर्मशाला पनि रहेका छन तर ती धर्मशालाहरु संरक्षण नहुँदा जीर्ण भईसकेका उनले बताए । पाटन नगरपालिका वडा न. ८ को कार्यालय नजिकै भएपनि अहिलेसम्म सो स्थान सम्म पुग्नका लागि बाटोघाटो र सडकको व्यवस्था गरिएको छैन् ।