Sagun Khabar
कार्तिक २९ र ३० गते बैतडीको शिवनाथमा स्थानीय बिदा 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले यही कार्तिक २९ र ३० गते स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नं –४ स्थित देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँकार्यपालिकाको कार्तिक ८ गते बसेको बैठकको निर्णय अनुसार कार्तिक २९ र ३० गते पालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थाहरुमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ । 

Atrya hospital

देहीगडा भगवती मन्दिरको जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर जात्राको दिन बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

देहीगडा भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । उक्त जात्रामा राँगा तथा बोकाको बलि दिने चलन समेत रही आएको छ । 

कार्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा राँगा बाँध्ने र कार्तिक शुक्ल पूर्णिमा दिन राँगाको बलि दिने चलन रही आएको अध्यक्ष साउँदले बताए । 

देहीगडा भगवती मेलौली भगवतीकै स्वरुप भएकाले देहीगडा भगवतीको जात्रामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गर्दछन् । 

देहीगडा भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । यसअघि शिवनाथ गाउँपालिकाले प्रसिद्ध शिवनाथ धामको जात्राको अवसरमा समेत स्थानीय सार्वजनिक बिदा दिएको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update