Sagun Khabar
डिलाशैनी घटना : अभियुक्त दिपामाथि अदालतबाट म्याद थपेर अनुसन्धान शुरु 

बैतडी –बैतडीमा आफ्नै देवरानीको हत्या गर्ने ३० बर्षीया दिपा बोहरामाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी दिपा बोहराले आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको टाउकोमा काठको चिर्पटले हिर्काएर सोमबार राति हत्या गरेकी थिइन् । 

Atrya hospital

घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएपछि सुनिताको घटनास्थलमै मृत्यु भएको थियो । देवरानीको हत्यामा संलग्न दिपालाई नियन्त्रणमा लिएको र  अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरेर दिपामाथि अनुसन्धान शुरु गरिएको छ । जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थपेर अभियुक्त दिपामाथि अनुसन्धान शुरु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए । दिपाले घरायसी विवादकै कारण आफ्नी देवरानीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक साउँदले बताए । उनले भने ‘हामीले अभियुक्तमाथि अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरिसकेका छौं । प्रारम्भिक अनुसन्धानमा घरायसी विवाद देखिएको छ । थप अनुसन्धानबाट अरु पाटोहरु खुल्दै जानेछ ।’

जेठानीले काठको चिर्पटले हिर्काउँदा मृत्यु भएकी सुनिता बोहराको शवको पोष्टमाष्र्टम गरिसकिएको छ । गोकुलेश्वर अस्पतालमा शवको पोष्टमार्टम गरिएको र आफन्तहरुले शव बुझिसकेको प्रहरी निरीक्षक साउँदले बताए । पोष्टमार्टम रिपोट आउन भने बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update