बैतडी–बैतडी घर भएकी एक सुत्केरी महिलाको भारतमा निधन भएको छ ।
जिल्लाको पाटन नगरपालिका–९ सल्लेबासा घर भएकी अन्दाजी ३८ बर्षीया नन्दा भट्टको भारतको बेंगलोरमा निधन भएको हो ।
चार दिन अघिमात्रै बच्चा जन्माएकी नन्दाको बुधबार बिहान बेंगलोरको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको उनका आफन्त देवदत्त अवस्थीले बताए ।
शल्यक्रिया गरेर बच्चा जन्माएकी नन्दाको सुत्केरी अवस्थामै मृत्यु भएको हो । सुत्केरी आमाको निधन भएपनि नवजात शिशु भने सकुशल रहेको बताइएको छ । मृतक नन्दाको बेंगलोरमै हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
नन्दाका श्रीमान भीमदत्त भट्ट रोजगारीको सिलसिलामा बेंगलोरमै रहेका र उनीसंगै नन्दा बेंगलोरमै बस्दै आएकी थिइन् । गएको डेढ बर्ष यतादेखि भट्ट परिवार बेंगलोरमा बस्दै आएका थिए ।
सुत्केरी अवस्थामै नन्दाको मृत्यु भएपछि उनको घर परिवार शोकमा डुबेको छ ।