बैतडी –बैतडीको जेठो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाले बर्षौंदेखि सडक छेउमै फोहर जलाइरहेको छ । गोठलापानी बजार नजिकै सडक छेउमा फोहर फाल्ने गरेको नगरपालिकाले अहिले सम्म फोहर व्यवस्थापन गर्न सकेको छैन् ।
२०५४ सालमा स्थापना भएको नगरपालिकाले फोहर व्यवस्थापनका लागि अहिले सम्म डम्पिङ साइड निर्माण गर्न सकेको छैन् । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा हरेक बर्ष डम्पिङ साइड निर्माणको कुरा अटाउने भएपनि कार्यान्वयन भने हुन सकेको छैन् ।
बजारबाट निस्केको फोहर सडक छेउमा व्यवस्थापन गर्दा सडक भएर आवतजावत गर्ने मानिसहरुले नाक थुन्नुपर्ने अवस्था रहेको छ । जगन्नाथ बहुमुखी क्याम्पस नजिकै सडक छेउमा राख्ने गरिएको फोहरले आवतजावत गर्नेहरुले नाक थुनेर हिँड्नुपर्ने बाध्यता रही आएको छ । बर्षौंदेखि सडक छेउमै फोहर जलाउँदा सास फेर्न समेत समस्या भएको स्थानीयहरुले बताएका छन् ।
फोहरको वर्गीकरण समेत नगरेर सडक छेउमा फालिएको फोहरमा आगो लगाउने गरिएको छ । फोहर बालेपछि निस्कने धुँवाले झन् समस्या निम्त्याएको स्थानीयहरुले बताएका छन् । बजारको फोहर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।
नगरपालिका स्थापना भएको ३ दशक भएपनि समेत फोहर व्यवस्थापन नहुनु दुखद पक्ष रहेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । संघीयतापछि नगरपालिकामा दुई सरकार बनिसकेका भएपनि फोहर व्यवस्थापनमा चुकेका छन् । उनले भने ‘फोहर व्यवस्थापन, नगर सरसफाइ स्थानीय सरकारको दायित्व हो । तर त्यो दायित्वबाट नगर सरकार चुकेको छ ।’
फोहर व्यवस्थापनका लागि नगरपालिकाले भने जमीन नपाएको बताउँदै आएको छ । डम्पिङ साइड निर्माणका लागि जमीन नपाउँदा समस्या भइरहेको नगरपालिकाका सरसफाइ तथा वातावरण शाखा प्रमुख अमर कार्कीले बताए । डम्पिङ साइड निर्माणका लागि पटक–पटक जमीनको खोजी गरिरहेको भएपनि उपयुक्त जमीन नपाएको उनले बताए । यसअघि डम्पिङ साइड निर्माणका लागि रानीबुंगा, साटीबिसौना र छेलामा जमीनको खोजी गरिएको भएपनि स्थानीयहरुको अवरोधका कारण काम अघि बढाउन नसकिएको उनले बताए ।
पछिल्लो समयमा नगरपालिकाको वडा नं ६ स्थित धल्कोट भन्ने स्थानमा डम्पिङ साइड निर्माणका लागि एकजनासंग कुरा भएको कार्कीले बताए । जग्गाधनीको लालपूर्जा आफूले राखेको बताउँदै केही दिनभित्र अनुगमन गरेर यो बिषयमा टुंगो लगाइने कार्कीले बताए ।
यस्तै वडा नं १ र २ को फोहर भने देहीमाण्डौं क्षेत्रमा जमीन भाडामा लिएर व्यवस्थापन गर्ने गरिएको छ । यो क्षेत्रमा पनि अस्थायी रुपमा फोहर व्यवस्थापन भइरहेको छ ।
हरेक बेलाको चुनावमा सदरमुकामको फोहर व्यवस्थापन एजेण्डाको रुपमा उठान हुने भएपनि फोहर व्यवस्थापनको काम अहिले सम्म हुन सकेको छैन् । सदरमुकामकै सडक छेउमा फोहर जलाउँदा यसले नराम्रो सन्देश दिइरहेको स्थानीयहरुले बताएका छन् ।