Sagun Khabar
बैतडीमा मेलौली भगवतीको जात्रा शुरु 

बैतडी–बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरको जात्रा शुरु भएको छ । 

हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । स्थानीय भाषामा यो जात्रालाई ‘देहीजात’ भन्ने गरिएको छ । 

मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा विभिन्न ठाउँबाट भण्डार ल्याउने चलन रही आएको छ भने बलि दिनका लागि आजै मन्दिर राँगा बाँध्ने चलन रही आएको छ । 

Atrya hospital

मेलौली नगरपालिकाको वडा नं –सुनगडा र देहीगाउँ, वडा नं –६ पोखरी र वडा नं –७ काँडामा रहेका भगवती भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने चलन रही आएको मेलौली मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । 

यस्तै भगवतीमा चढाउनका लागि हरिबोधिनी एकादशीको दिनदेखि वडा नं ५ मा संकलन गरिएको पोखल समेत आजै मन्दिरमा पुर्याइएको छ । उक्त पोखल (चामल)सहित अन्य ठाउँबाट आएको पोखलले भगवतीको पूजाआराधना गर्ने चलन रही आएको नायकले बताए । 

मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आइपुगेका छन् । मेलौली भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

यो जात्रालाई आफन्तजनहरुले भेटघाटको रुपमा समेत लिने गर्दछन् । टाढाटाढाका आफन्तबीच भेट हुने भएकाले सामाजिक सदभावका लागि यो जात्रा निकै महत्वपूर्ण रहेको बताइएको छ । यस्तै जात्रामा स्थानीय उत्पादनले समेत बजार पाउने गरेको छ । यो जात्रामा यहाँको लोकप्रिय खाना माँडा समेत पाइने गरेको छ । आफन्तजन तथा इष्टमित्रहरुका लागि जात्रामा आउनेहरुले माँडा लिएर आउने प्रचलन रहेको छ ।

मेलौली भगवती मन्दिर परिसरमा पछिल्लो समयमा विभिन्न संरचनाहरु समेत निर्माण भइरहेका छन् । मन्दिरको जात्रालाई व्यवस्थित बनाउन र भक्तजनहरुको सहजताका लागि घेरपर्खाल निर्माण कार्य भइरहेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताए । 

संघीय सरकारको ४ करोड ५५ लाख र मेलौली नगरपालिकाको २ करोड ४५ लाखको लागतमा घेरपर्खालका साथै गेट र पोखरी निर्माणको काम भइरहेको नायकले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update