बैतडी–बैतडीका चारओटा पालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।
यी चारओटै पालिकामा रहेका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।
सार्वजनिक बिदाका दिन पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा बिदा रहने उल्लेख गरिएको छ ।
मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले आज पनि बिदा दिएका थिए ।
दशरथचन्द नगरपालिकाले नगरपालिकाको वडा नं –४ स्थित प्रसिद्ध जगन्नाथ मन्दिर, वडा नं –११ सीमस्थित ग्वाल्लेक केदार मन्दिर र दनपा –१० सतपालीस्थित दानेश्वर नागार्जुन मन्दिरमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिएको हो ।
नगर क्षेत्रभित्रका महत्वपूर्ण धार्मिक स्थलहरुमा जात्रा लाग्ने भएकाले नगर प्रमुखस्तरीय निर्णय अनुसार शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले जानकारी दिए ।
यस्तै मेलौली नगरपालिकाले वडा नं –१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्राको अवसरमा आज र भोलि बिदा दिएको छ भने शिवनाथ गाउँपालिकाले वडा नं–४ स्थित प्रसिद्ध देहीगडा भगवती मन्दिरमा लागेको जात्राको अवसरमा बिदा दिएको हो ।
यस्तै सुर्नया गाउँपालिकाले वडा नं –५ बरायलस्थित फाल्ङाशैनी भगवती मन्दिरमा लागेको जात्राको अवसरमा भोलि सार्वजनिक बिदा दिएको जनाएको छ ।
जात्रा तथा मेलामा स्थानीयहरुको उल्लेख्य र उल्लासमय सहभागितालाई दृष्टिगत गरेर बिदा दिइएको स्थानीय तहहरुले जनाएका छन् ।