बैतडी –बैतडीको एक मन्दिरमा चोरी भएको छ ।
जिल्लाको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धाम विश्वनाथ मन्दिरमा चोरी भएको हो । बुधबार रातिको समयमा मन्दिरको मूल ढोकाको ताला तोडेर चोरी भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गणेशप्रसाद पन्तले बताए ।
चोरले मन्दिर भित्र पसी दानपेटिका भित्रको नगद रुपैयाँका साथै पूजा सामग्रीहरु चोरेर लगेको पन्तले बताए । मन्दिर भित्र रहेको सवा तोलाको सुनको प्रतिमा लगायतका अन्य पूजा सामग्री गरेर ५ लाख ७५ हजार रुपैयाँ बराबरको चोरी भएको पन्तले दाबी गरेका छन् ।
यस्तै मन्दिरमा लगाएका २५ ओटा बल्ब,१२ ओटा रेलिङ पाइप र ५ सयमिटर खानेपानीको पाइप समेत चोरी भएको पन्तले बताए ।
मन्दिरमा चोरी भएको बिषयमा इलाका प्रहरी कार्यालय पाटनमा निवेदन आएको र यो बिषयमा खोजी र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए ।
चोरी भएको मन्दिरको स्थलगत निरीक्षण गर्दा मूलढोकाको ताला तोडेको पाइएको र चोरी भएको सामग्री र रकम भने एकीन हुन बाँकी रहेको उनले बताए । मन्दिरमा चोरी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।