बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित ‘सत्यं शिवं सुन्दरम् समाज’ले सामाजिक कार्यमा सक्रियता देखाएको छ ।
२०७२ सालमा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यका लागि आवश्यक पर्ने भाडाकुँडासहित टेन्ट ल्याइसकेको छ । विवाह, ब्रतबन्ध, सांस्कृतिक आदि कार्यक्रमका लागि समाजले टेन्ट उपलब्ध गराउँदै आएको अध्यक्ष भुवन भट्टले बताए ।
समाजले गत बर्ष होली खेलेर १ लाख ३५ हजार रुपैयाँ संकलन गरेको र उक्त रकमले भाँडाकुडाका साथै वाद्यवादन सामग्री खरीद गरेको अध्यक्ष भट्टले बताए । उनले भने ‘हामीले समाजमार्फत आफ्नो ठाउँको विकासका लागि केही गर्न खोजेका छौं । युवाहरुलाई सामाजिक कार्यमा सक्रिय बनाउन लागिपरेका छौं । युवाहरुमा सकारात्मक भावनाको विकासका लागि विभिन्न कामहरु गरिरहेका छौं ।’
समाजकै सक्रियतामा वडा नं १ मा भजनमण्डली तयार पारिएको छ । युवाहरु समावेश रहेको भजनमण्डलीले विभिन्न धार्मिक कार्यक्रमहरुमा भजनकिर्तनको कार्यक्रम गर्दै आएको छ ।
यस्तै आगामी दिनमा गाउँमा नशामुक्त अभियान सञ्चालन गर्ने सोच रहेको अध्यक्ष भट्टले बताए । गाउँघरमा समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्न विभिन्न अभियान सञ्चालन गर्ने समाजको तयारी रहेको भट्टले बताए ।
सकारात्मक सोच र चिन्तनबाट समाजमा परिवर्तन ल्याउनका लागि सत्यं शिवम् सुन्दरम् समाजले काम गरिरहेको भट्टले बताए ।
यसअघि होलीबाट संकलन भएको आम्दानी र खर्चका बिषयमा समेत सार्वजनिक सुनुवाईमार्फत जानकारी गराइएको भट्टले बताए । १ लाख ३५ हजारमध्ये विभिन्न सामग्री खरीदमा १ लाख २६ हजार खर्च भएको उनले बताए ।