बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा केही दिन पहिला एकजना पुरुषमा एचआइभी पोजेटिभ देखियो ।
वडा नं –१ स्थित चतुर्बाहु मन्दिरमा लागेको मेलामा सञ्चालन गरिएको हेल्थ डेस्कमा रगत परीक्षणमा क्रममा एकजनामा एचआइभी संक्रमण देखिएको हो । तर ती व्यक्तिलाई उपचारमा ल्याउन सकिएको छैन् ।
एचआइभी पोजेटिभ देखिए पनि विभिन्न भेदभाव र लाञ्छानाका कारण ती व्यक्ति उपचारमा आउन नमानेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । एचआइभीका बारेमा जानकारी दिएको र निशुल्क औषधि उपचार हुने कुरा बताए पनि ती व्यक्ति उपचारमा आउन मानेका छैनन् ।
यो एक उदाहरण मात्रै हो, बैतडीमा अझै पनि एचआइभी संक्रमितहरु लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ । बैतडीमा कम्तीमा २ सय २८ जना एचआइभी संक्रमति हुनसक्ने आँकलन गरिएको भएपनि १ सय ७० जना मात्रै सम्पर्कमा आएका छन् ।
एचआइभी संक्रमण पुष्टि भएका १७० जनामध्ये ८७ जना महिला र ८३ जना पुरुष रहेका छन् । एचआइभी संक्रमण पुष्टि भएका १ सय ७० जनामध्ये १ सय २८ जनामात्रै उपचारको दायरमा आएका छन् । बाँकी ४२ जनाको अवस्था अज्ञात रहेको एचआइभी रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताए ।
एचआइभी संक्रमितहरुलाई समाजमा गर्ने व्यवहारका कारण उनीहरु खुलेर आउन नसक्ने र भरसक आफ्नो रोग लुकाउनेतर्फ लाग्ने गरेको पन्तले बताए । उनले भने, ‘एचआइभी संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन् । एचआइभी यौनरोग भएका कारणले समाजमा हेलाको दृष्टिले हेर्ने गरिन्छ । फलस्वरुप संक्रमितहरु लुकेर बस्न खोजीरहेका हुन्छन् ।’
असुरक्षित यौन सम्पर्क लगायतका कारण मानिसमा एचआइभी सर्ने गर्दछ । एचआइभी भनेको अति सुक्ष्म बिषाणु हो, जसले मानिसको रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्ने गर्दछ । यदि एचआइभी संक्रमित व्यक्तिले एआरटी औषधि प्रयोग नगरेमा दिनदिनै प्रतिरोधात्मक क्षमता नष्ट भएर एड्सको अवस्थामा पुग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
एचआइभीका बिषयमा समाजमा गलत बुझाइ रहेकाले संक्रमतिहरुलाई उपचारमा ल्याउन निकै सकस रहेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए । उनले भने,‘एचआइभी संक्रमितहरुलाई उपचारको दायरमा ल्याउन निकै समस्या हुने गरेको छ । एचआइभी पत्ता लागेकाहरु समेत उपचारमा आउन मान्दैनन् ।’
असुरक्षित यौन सम्पर्क राख्दा, परीक्षण नगरिएको रगत तथा रगतजन्य पदार्थ लिँदा लगायतका कारणले एक मानिसबाट अर्को मानिसमा एचआइभी सर्ने गर्दछ । तर यो बिषयमा जानकारी नहुँदा समेत धेरैमा संक्रमण हुने गरेको सार्कीले बताए ।
एचआइभी संक्रमितहरुलाई उनीहरुको रोगसंग लड्ने क्षमता बनाइराख्न सरकारले निशुल्क रुपमा एआरटी औषधि दिने गरेको छ । तर पनि संक्रमितहरु खुलेर आउन नसकेका पन्तले बताए ।
नेपाल सरकारले सन् २०२६ भित्र एचआइभी पत्ता लागेका ९५ प्रतिशतलाई उपचारको दायरमा ल्याउने लक्ष्य राखेको छ तर त्यो लक्ष्य भेट्टाउन निकै मुस्किल रहेको पन्तले बताए ।