Sagun Khabar
पूर्वसभामुख ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाण्डौ – सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

 

Atrya hospital

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको र राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको प्रबक्ता गुरुङले बताए । प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उहाँको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए  ।

बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको बताएका छन । ढुङ्गानाको बानेश्वरमा रहेकाे फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा हिजो निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update