बैतडी –पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । बैतडीको पाटन नगरपालिका–४ जेउडेमा आइतबार साँझ सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग सोमबार बिहान १० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।
बैतडी–दार्चुला जोड्ने राजमार्गमा पहिरो खस्दा आइतबारदेखि सवारी आवागमन रोकिएको थियो । सोमबार बिहान सडक सुचारु भएसंगै यातायात साधनहरु सञ्चालनमा आएका प्रमुख जोशीले बताए ।
जेउडेमा मोड सुधारको काम चलिरहेको र डोजरले खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो । राति पहिरो पन्छ्याउन जोखिम भएपछि सोमबार बिहानैदेखि तीनओटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छ्याइएको कार्यालय प्रमुख जोशीले बताए ।
पहिरो पन्छ्याएसंगै लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् ।