बैतडी–बैतडीको पाटन नगरपालिकाले चालु शैक्षिक सत्रमै विद्यालय समायोजनको तयारी गरेको भएपनि यो मुद्दा पेचिलो बन्दै गएको छ ।
नगरपालिकाले गएको कार्तिक ४ गते विद्यालयहरुलाई पत्राचार गर्दै विद्यार्थी संख्या नभएका विद्यालयमा अनुदान नदिने जनाएको थियो । असोज १० गते गरेको कार्यपालिकाको निर्णय अनुसार मापदण्ड अनुसार विद्यार्थी संख्या नभएका विद्यालयमा अनुदान कटौती गर्ने पत्र विद्यालयहरुमा पठाइएको थियो ।
नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा विद्यार्थी संख्याको मापदण्ड पहिला नै तयार गरेको र यो मापदण्ड अनुसार विद्यालय समायोजन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए । नगरपालिकाले तयार पारेको मापदण्ड अनुसार प्रारम्भिक बालविकास कक्षामा कम्तीमा २५ जना,कक्षा १देखि ३ सम्मका विद्यालयमा कम्तीमा ३० जना, कक्षा १ देखि ५ सम्मका विद्यालयमा कम्तीमा ६५ जना, कक्षा १ देखि ८ सम्मका विद्यालयमा कम्तीमा १ सय १० जना, कक्षा १ देखि १० सम्मका विद्यालयमा कम्तीमा १ सय ७० जना र कक्षा १ देखि १२ सम्मका विद्यालयमा कम्तीमा २ सय १० विद्यार्थी हुनुपर्नेछ ।
स्वीकृत मापदण्ड अनुसारका विद्यार्थी संख्या नभएका विद्यालयहरुलाई नजिकका विद्यालयहरुमा समायोजन गर्ने निर्णय भएको भएपनि यो निर्णय कार्यान्वयनमा चुनौती थपिँदै गएको छ ।
विद्यार्थी संख्या नपुगेका विद्यालयहरुलाई समायोजन गर्ने, दरबन्दी मिलान गर्ने, कक्षा घटुवा गर्ने र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि सबैले पहल गर्ने निर्णय कार्यपालिकाले सर्वसम्मत पारित गरेको वडा नं ८ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले बताए । तर पछिल्लो समयमा पालिकाको निर्णयमा बाह्य राजनीति हुँदै गएको उनले बताए । पालिकाले गरेको सर्वसम्मत निर्णयका बिषयमा बाहिर अफवाह फैलाउनु ठीक नभएको उनले बताए ।
पाटन नगरपालिकाले गरेको निर्णयमा पुनर्विचार गर्नुपर्ने भन्दै एमाले र उसका भातृसंगठनहरुले माग राख्दै आएका छन् । सोमबार मात्रै एमालेको पाटन नगर कमिटिको बैठकले नगरपालिकाको शिक्षा सम्बन्धि निर्णयमा पुनर्विचार गर्नुपर्ने माग राख्ने निर्णय गरेको थियो । यसअघि पाटन नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएको एमालेले शैक्षिक सत्रको बिचमा यो निर्णय कार्यान्वयन गर्न नहुने अडान राख्दै आएको छ ।
तर नगर उपप्रमुख बोहराले भने शैक्षिक सत्रको शुरुवातदेखि नै विद्यालय समायोजनको निर्णय सर्वसम्मत रुपमा पारित भएको बताए । नगर कार्यपालिकामा सर्वसम्मत निर्णय भएकाले बाहिर कसले के भने भन्ने बिषय गौण भएको उनले बताए । उनले भने ‘मलाई लाग्छ कार्यपालिकाको सर्वसम्मत निर्णयका बिषयमा कसैले बिमति राखेका छैनन् । यसलाई कार्यान्वयन गर्ने दिशामा सबैले अगाडि बढ्नुपर्छ ।’
पाटन नगरपालिकामा १ सय १४ जना नगर स्वयंसेवक शिक्षकहरु रहेका छन् । मापदण्ड अनुसार विद्यालय समायोजन गर्दा केही शिक्षकहरुलाई हटाउनुपर्ने देखिन्छ । यही बिषयलाई लिएर अहिले नगरपालिकाको निर्णय कार्यान्वयन पेचिलो बन्दै गएको छ । आफ्नै निर्णय कार्यान्वयन गराउने बाध्यता एकातिर छ भने बाहिरको विरोधको सामना समेत नगरपालिकाले गर्दै आएको छ ।
नगर क्षेत्रभित्र ६२ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । धेरैजसो विद्यालयमा मापदण्ड अनुसार विद्यार्थी संख्या नरहेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले बताए । विद्यालय समायोजन लगायतका बिषयमा भोलिको कार्यपालिका बैठकले केही निर्णय गर्न सक्ने उनले बताए ।
पाटन नगरपालिकाले बुधबार कार्यपालिकाको बैठक डाँकेको छ । शिक्षाका बिषयमा भइरहेको बहस र निर्णयहरुका सम्बन्धमा भोलि (बुधबार)को कार्यपालिका बैठकले निष्कर्षसहितको निर्णय निकाल्ने सामाजिक विकास समिति संयोजक बिष्टले बताए । बाहिर हल्ला फैलिएजस्तो नभएर शैक्षिक क्षेत्र सुधारका लागि नगरपालिकाले निर्णय गरेको र यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने बिषयमा थप छलफल गरिने उनले बताए ।