कैलाली –गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।
धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिए ।
जनताले आफ्नो अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्दै मुलुकमा अमनचयन, विधिको शासन, शान्तिसुरक्षा र अनुशासन कायम गर्न जरुरी रहेको उनले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ऐनलाई समयानुकूल बनाउन संसद्को आगामी अधिवेशनमा नयाँ कानुन पेस गरिने गृहमन्त्री लेखकले बताए ।
गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुको सहभागिता छ ।