बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा चालु आर्थिक बर्षभित्रै पूर्ण विद्युतीकरण हुने भएको छ ।
गाउँपालिकाको पहल र नेपाल विद्युत प्राधिकरणको सहयोगमा पालिकालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यसहित काम अघि बढेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
गाउँपालिकाको वडा नं ६, ७ र ८ का केही घरधुरीमा विद्युतीकरण हुन बाँकी रहेको र ती घरधुरीमा विद्युतीकरणका लागि पोल आइसकेकाले यो बर्षभित्रै पालिकामा पूर्ण विद्युतीकरण हुने उनले बताए ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रम अन्तर्गत बैतडीका विभिन्न पालिकाहरुमा कार्यक्रम सञ्चालन भइरहेको र सुर्नयामा पनि यो बर्ष पूर्ण विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।
सुर्नया गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम अन्तर्गत वडा नं ६ का लागि १ सय ८ पोल, वडा नं ७ का लागि ७ सय पोल र वडा नं ८ का लागि ३ सय २२ पोल ढुवानी भइसकेको अध्यक्ष कुँवरले बताए । उनले भने ‘हामीले पालिकालाई पूर्ण विद्युतीकरणका लागि विद्युत प्राधिकरणसंग आग्रह गर्यौं । सोही बमोजीम हाम्रो पालिकामा पूर्ण विद्युतीकरण कार्यक्रम लागू भएको छ । यो बर्षभित्रै बाँकी रहेका घरधुरीमा विद्युत बल्छ ।’
पालिकामा पूर्ण विद्युतीकरणका लागि ठेकेदारमार्फत काम भइरहेको र आवश्यक पोलहरु ढुवानी भइसकेकाले अब पूर्ण विद्युतीकरणको काम अघि बढ्ने अध्यक्ष कुँवरले बताए ।
पालिकामा पूर्ण विद्युतीकरण भएपछि नागरिकहरुलाई सहज हुने विश्वास गरिएको अध्यक्ष कुँवरले बताए । पालिकालाई पूर्ण विद्युतीकरण गर्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेकाले यो कार्यमा सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।