बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा शाखा अधिकृतको दरबन्दी पूर्ती नहुँदा समस्या भएको छ । जिल्ला प्रशासन कार्यालयमा दुईजना र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटमा एक गरेर तीन जनाको दरबन्दी रहेको भएपनि तीनै दरबन्दी खाली रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत शाखा अधिकृत रुद्रबहादुर पछाईको समेत घरमा समस्या हुँदा नियमित आउन सकिरहेका छैनन् । प्रमुख जिल्ला अधिकारी सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भएकाले केही दिनमात्रै पछाई जिल्लामा रहने र फेरि काठमाण्डौं फर्किने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा दरबन्दीका अधिकृत नहुँदा कार्यसम्पादनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने,‘कार्यालयमा अधिकृत नहुँदा साह्रै समस्या भएको छ । कार्यालय छोड्न नमिल्ने अवस्था सिर्जना भएको छ ।’
जिल्ला प्रशासन कार्यालय अन्तर्गतकै इलाका प्रशासन कार्यालय हाटमा समेत अधिकृत नहुँदा नागरिकता वितरण कार्य प्रभावित भएको छ । इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाण पत्र वितरण, नाबालिग प्रमाणित लगायतका कार्यहरु रोकिएपछि स्थानीयहरुले सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । इलाका प्रशासन कार्यालयमा अधिकृत नभएको दुई महिना बढी भइसक्दा समेत दरबन्दी पूर्ती भएको छैन् ।
इलाका प्रशासन कार्यालयमा अधिकृत नहुँदा नागरिकता लिन चाहने नागरिकको कागजात संकलन गरेर सदरमुकाम पुर्याउने गरिएको छ । त्यसपछि सदरमुकामबाट नागरिकता लगेर वितरण गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । ‘सदरमुकाम आउनैपर्ने बाहेकका नागरिकको हामीले कागजात संकलन गरेर नागरिकता जारी गर्ने गरेका छौं । तर पनि नागरिकलाई सास्ती भने भइरहेको छ ।’ उनले भने,‘अधिकृत नहुँदा प्रशासन कार्यालयबाट मैले समेत अन्यत्र कतै जान मिलेको छैन् । प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा सहभागिता जनाउनुपर्ने हुन्छ । तर कर्मचारी नहुँदा कार्यालय छोड्न मिल्दैन् ।’
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा दरबन्दी अनुसारका अधिकृत पठाउन गृह मन्त्रालयलाई पत्राचार र जानकारी गराएको भएपनि अहिले सम्म पदपूर्ती हुन नसकेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने ‘मैले यता आएपछि मन्त्रालयलाई जानकारी गराइसकेको छु । कार्यालयमा कर्मचारी अभावको कुरा पत्रमार्फत र मौखिक रुपमा भनेको छु । तर अहिलेसम्म पठाएको अवस्था छैन् ।’