Sagun Khabar
देवरानीको हत्या गर्ने दिपामाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान गरिँदै 

बैतडी–चिर्पटले टाउकोमा हानेर आफनै देवरानीको हत्या गर्ने दिपा बोहरामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

डिलाशैनी गाउँपालिका–३ छेपट्टाकी ३० बर्षीया दिपा बोहराले गएको कार्तिक २६ गते सामान्य घरायसी विवादमा आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको हत्या गरेकी थिइन् । सामान्य घरायसी विवादमा देवरानीको टाउकोमा काठको चिर्पटले बजार्दा सुनिताको घटनास्थलमै मृत्यु भएको थियो । 

Atrya hospital

कर्तव्य ज्यान कसुरमा दिपामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । मंगलबार जिल्ला अदालतबाट ८ दिनका लागि दोश्रो पटक म्याद थपेर उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

डिलाशैनीको छेपट्टा घटनापछि दुवैका छोराछोरीको विचल्ली भएको छ । सुनिताको मृत्यु भएपछि उनका नाबालक छोराछोरीको विचल्ली भएको हो भने दिपा प्रहरी हिरासतमा रहँदा उनका छोराछोरीको पनि विचल्ली भएको छ । 
यो घटनाले घरपरिवार नै अस्तव्यस्त भएको स्थानीय अकबर बोहराले बताए । सामान्य विवादमा ठूलो घटना भएपछि अहिले बोहरा परिवार समस्यामा परेको उनले बताए । 

घटनापछि चालकको काम गर्दै आएका सुनिताका श्रीमान घर फर्किएका छन् यस्तै काठमाण्डौंमा सानोतिनो व्यवसाय गरिरहेका दिपाका श्रीमान पनि घर फर्किएका छन् । उनीहरु दुवै दाजुभाइले अहिले घर परिवार सम्हाल्ने कोशिस गरिरहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update