Sagun Khabar
बैतडीको एक वडा कार्यालयमा स्थानीयद्वारा तालाबन्दी 

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा नं–३ को कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । आधारभुत स्वास्थ्य केन्द्र सबैको पायक पर्ने ठाँउमा हुनुपर्ने माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय धनबहादुर चन्दले जानकारी दिए ।

वडा नं –३ को मलेनामा वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि सोही ठाउँका खुइलसिंह ठगुन्नाले १० रोपनी जमीन दान गरेका थिए । अहिले ठगुन्नाको निधन समेत भइसकेको छ । उक्त जमीनमध्ये ५ रोपनी वडा कार्यालय भवन निर्माण भएर सेवा समेत सुचारु भइसकेको छ । बाँकी रहेको ५ रोपनी जमीनमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण हुनुपर्ने स्थानीयहरुले माग राखेका छन् । 

Atrya hospital

अहिले वडा नं ३ को कुजागाडमा बर्थिङ सेन्टरबाट सेवा सञ्चालनमा रहेको छ । सोही ठाउँमा वडा अध्यक्ष गगनसिंह भाटले आधारभूत स्वास्थ्य केन्द्र लैजान खोजेको स्थानीयहरुको आरोप रहेको छ । 

तर वडा अध्यक्ष भाटले भने एक्कासी कार्यालयमा तालाबन्दी गरिएको र यो बिषयमा आज स्थानीयहरुसंग छलफल भइरहेको उनले बताए । तालाबन्दी गर्नेहरुले आफ्ना माग बिषयमा आफूलाई कुनै जानकारी नदिएको वडा अध्यक्ष भाटले दाबी गरे । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update