Sagun Khabar
बैतडीको पाटनमा विद्यालय समायोजन मुद्दा : नयाँ कार्यदल गठन 

बैतडी–बैतडीको पाटन नगरपालिकाले विद्यालय समायोजनको मुद्दालाई टुंगोमा पुर्याउन नयाँ कार्यदल गठन गरेको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडा अध्यक्ष हरिश बिष्टको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

उक्त कार्यदलले विद्यालय समायोजनको मुद्दा टुंग्याउन सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । कार्यदलमा वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्ट, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, वडा नं ७ का वडा अध्यक्ष ललितबहादुर चन्द, वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर र कार्यपालिका सदस्य रमेश कोली सदस्य रहेका छन् । यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयलाई कार्यदलको सदस्य सचिव तोकिएको छ । 

Atrya hospital

कार्यदलले विद्यालयहरुको स्थलगत अनुगमन तथा अध्ययन गरेर नगरपालिकामा प्रतिवेदन बुझाउने कार्यदलका संयोजक बिष्टले बताए । आगमी चैतसम्म सबै विद्यालय समायोजनको मुद्दा टुंग्याउने हिसाबले कार्यदलले काम गर्ने उनले बताए । उनले भने ‘कार्यपालिकामा पाटनको शिक्षा क्षेत्रका बिषयमा व्यापक छलफल भयो । विद्यालय समायोजनको मुद्दा बाहिर आएजस्तो होइन् । यो विद्यालयको समग्र सुधारको मुद्दा हो । त्यसैले हामीले हरेक विद्यालयमा पुगेर अनुगमन गर्छौं । त्यसपछि आवश्यकता अनुसार विद्यालयको समायोजनको मुद्दा टुंग्याउँछौं ।’

विद्यालय समायोजन गर्दा अब विद्यार्थी संख्या मात्रै नभएर भौगोलिक अवस्थाको पनि अध्ययन गरिने संयोजक बिष्टले जानकारी दिए । यसअघि तयार पारिएको मापदण्डमा विद्यार्थी संख्यामा प्रारम्भिक बालविकास कक्षालाई अलगै राखिएकोमा अब त्यो विद्यार्थी संख्या पनि जोडेर विद्यार्थी संख्या पुग्नुपर्ने मापदण्ड बनाइएको छ । यस्तै विद्यार्थी संख्यालाई मुख्य आधार बनाइएपनि भौगोलिक दुरी टाढा भएका विद्यालयहरुको हकमा त्यो मात्रै लागू नहुने संयोजक बिष्टले बताए । 

विद्यालय समायोजनको स्पष्ट खाका तयार पारेपछि समायोजन गर्ने विद्यालयहरुलाई समायोजन गर्ने, तह घटुवा गर्ने, नगर स्वयंसेवक शिक्षकहरुको सरुवा गर्ने र केही शिक्षकहरुलाई हटाउनुपर्ने देखिए हटाइने संयोजक बिष्टले बताए । 

यस्तै कार्यपालिका बैठकले शिक्षक अनुदान कोटा समेत वितरण गर्ने निर्णय गरेको छ । संघीय अनुदान कोटा विभिन्न विद्यालयहरुमा अंग्रजी, गणित र विज्ञानका शिक्षक भर्ना गर्नका लागि वितरण गरिएको हो । माध्यमिक तह अन्तर्गत ६ ओटा वितरण गरिएका छन् भने आधारभूत तहमा एक कोटा वितरण गरिएको हो । 

संघीय अनुदान कोटा पाउने विद्यालयमा वडा नं ८ स्थित जनता मावि आरुबटा, वडा नं १० स्थित कालिका मावि मटे र निलपालेश्वर मावि डैंसीली, वडा नं ४ स्थित भुमेश्वर मावि ठाँड, वडा नं ३ स्थित गुजर मावि र वडा नं ५ स्थित त्रिपुरेश्वर मावि कुलडा रहेका छन् । यस्तै आधारभूत तहको अनुदान कोटा वडा नं ५ स्थित शिवशक्ति आधारभूत बगाउँले पाएको छ । 

यस्तै कार्यपालिका बैठकले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रका कर्मचारीहरु खटाएको ठाउँमा नगएको देखिएकाले उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको बिष्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update