कैलाली –गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले)को साझा एजेन्डा प्रस्तुत हुने बताएका छन् ।
नेपाल प्रेस युनियनले बिहीबार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्री चीन भ्रमण अघि साझा एजेण्डा तयार हुने र ती एजेण्डा प्रस्तुत हुने उनले बताए ।
चीनसंगको बीआरआइ सम्झौताका बिषयमा बोल्दै गृहमन्त्री लेखकले बीआरआइमा अनुदान लिने तर ऋणका रुपमा स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको प्रष्ट पारे । उनले बीआरईमा ऋण स्वीकार्य नभएको बताए ।
मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका निम्ति वर्तमान सरकार गठन भएको बताउँदै गृहमन्त्री लेखकले सत्तासाझेदार प्रमुख दुई दलबीच हाल कुनै विषयमा असमझदारी नभएको जिकिर गरे ।
लोकतन्त्र र संविधानका विरुद्धमा गरिने कुनै पनि गतिविधि सैह्य नहुने उनले बताए । अराजकता र अस्थिरताको अन्त्यसहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा सरकार अघि बढेको उनले बताए ।