Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक ५ बर्षभित्र कालोपत्रे हुने 

बैतडी–बैतडीको सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक अबको पाँच बर्षभित्र कालोपत्रे हुने भएको छ । श्रीभावर–दोगाड–लेक–गर्जे सडकलाई अबको पाँच बर्षभित्र कालोपत्रे गर्ने गरेर सम्झौता भएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 

विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत उक्त सडकलाई कालोपत्रे गरिने प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । 

Atrya hospital

सडक कालोपत्रे गर्ने कामलाई अघि बढाउन बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबीच सडक निर्माण कार्यलाई अघि बढाउन त्रिपक्षीय सम्झौता भएको हो । 

सम्झौता भएसंगै सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई कालोपत्रे गर्ने काम अघि बढ्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । श्रीभावर–दोगाड–लेक–गर्जे सडकको ट्रयाक गाउँपालिकाको केन्द्रसम्मै खोलिसकिएको छ । उक्त सडकलाई स्तरोन्नतीसहित कालोपत्रे गर्नका लागि सम्झौता भएको र सोही अनुसार काम अघि बढ्ने अध्यक्ष धामीले बताए । 

उक्त सडकलाई कालोपत्रे गर्नका लागि डिपिआर बनाउने काम भइरहेको र वातावरणीय प्रभाव मूल्याकंनको काम पनि अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । 

नेपाल सरकार र विश्व बैंकबीच पालिकाको केन्द्रमा सडक नपुगेका पालिकाका केन्द्रहरुमा सडक पुर्याउने सहमति अनुसार यो सम्झौता भएको हो । यसको कार्यान्वयन प्रदेश सरकारले गर्नेछ । 

यस्तै सडक निर्माणका लागि सामाजिक वातावरण र अन्य कामहरुमा गाउँपालिकाले समेत सहजीकरण गर्ने अध्यक्ष धामीले बताए । 

सिगास गाउँपालिकाको केन्द्रसम्म पक्की सडक निर्माण भएमा स्थानीयहरुले सहज हुने विश्वास गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update