बैतडी - बैतडीमा चालु आर्थिक बर्षको साउनदेखि हालसम्म ५० जना क्षयरोगका बिरामी भेट्टिएका छन् । जिल्लामा महिला र पुरुष गरि ५० जना क्षयरोगका बिरामी भेटिएका जिल्ला स्वास्थ कार्यालय बैतडीले जनाएको छ ।
क्षयरोग सर्ने र नसर्ने गरि दुई प्रकारको हुन्छ । यो रोग अवसरवादी हुन्छ। शरीर कमजोर भएको अवस्थामा यसले आक्रमण गर्छ। क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक किटाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो। यसका यो बाहेक अन्य प्रजातिहरु पनि हुन्छन। बैतडीमा गत आर्थिक वर्षमा दुइ सय जनामा क्षयरोग फेला परेको थियो तर चालु आर्थिक बर्षमा भने क्षयरोगका बिरामी केही बढन सक्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका क्षयकुष्ठ सुपरभाइजर जयसिँह बढालले बताए ।
बैतडीमा पन्ध्र देखि चालीस बर्ष उमेरसम्मका व्यक्तिहरुमा बढी क्षयरोग भेटिएको बताइएको छ । जिल्लाका ६८ ठाउँमा क्षयरोग उपचारका लागि डट्स केन्द्र र आठवटा ठाउँमा क्षयरोग निदानका लागि प्रयोगशाला सञ्चालनमा रहेका छन् भने खकार जाँचका लागि सबै पालिकामा कुरियर सेवा समेत सुचारु रहेको क्षयकुष्ठ सुपरभाइजर बढालले बताए ।
बैतडीको हकमा धेरैजसोले सीमावर्ती भारतको पिथौरागढमा गएर क्षयरोगको औषधि उपचार गर्ने तर औषधिको पूरा मात्रा नखाने हुनाले जीर्ण क्षयरोगको समस्या बल्झिने गरेको छ । लगातार दुई हप्तासम्म खोकी लागिरहनु, साँझपख हल्का ज्वरो आउनु, तौल घट्दै जानु, खान मन नलाग्नुजस्ता लक्षण देखापरेमा क्षयरोग हुन सक्ने भएकाले स्वास्थ्यसंस्थामा चेकजाँच गराउन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गर्नुभएको छ । क्षयरोग सामान्य रोग भएपनि यसको उपचारमा ढिलाइ गर्यो भने यसले मानिसको ज्यानसमेत जान सक्ने क्षयकुष्ठ सुपरभाइजर बढालले बताएका छन ।
नेपाल सरकारले क्षयरोग लागेका बिरामीको प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर सबै क्षयरोगी अझै बाहिर खुलेर आउन नसकेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।