बैतडी –
बैतडीको दोगडाकेदार गाउँपालिकामा फोन तथा ईन्टरनेटको समस्या रहेको छ । गाउँपालिकाको केन्द्र लगायतका यहाँका अधिकांस वडाहरुमा ईन्टरनेटको समस्या रहेको हो । नेपाल टेलिकमको फोरजी सेवा बिस्तार गरेपनि काम नगरेको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ । फोरजी नेटवर्कले काम नगर्दा गाउँपालिकाका साथै बैंक तथा विद्यालय लगायत वित्तिय संघसंस्थाहरुलाई समस्या भएको छ । कक्षा ११ र१२ का विद्यार्थीहरूका लागि अनलाइन रजिष्ट्रेशन र परीक्षा प्रक्रियाका लागि राम्रो इन्टरनेट सेवा आवश्यक भएपनि, नेटवर्कले राम्रोसँग काम नगर्दा समस्या भएको जनाएका छन।
५ – ६ महिना पहिले नेपाल टेलिकमको डाटा किनेर लिइएको भएपनि राम्रोसँग काम नगर्दा सदरमुकाम जानु पर्ने अवस्था रहेको छ । विद्यार्थीहरू र शिक्षकहरुका लागि ठूलो समस्या बनेको सनातन धर्म मा.वि.श्रीकोटका लेखापाल अर्जुन सिंह भण्डारीले जानकारि दिनुभएको छ ।
यसका साथै फोरजी नेटकर्वले काम नगर्दा स्थानीय बासिन्दा समेत आजित भएका छन् । ग्लोबल आइएमई बैंक खोचलेक शाखाका प्रवन्धक लिलाधर भट्टले इन्टरनेटले काम नगर्दा निकै समस्या भएको बताए । फोरजी सेवाले काम नगर्दा दोगडाकेदार गाउँपालिका र अन्य ठाउका बासिन्दाले एनटी फाइबर सेवा सस्तो र सुलभ पनि रहेकाले एफटीटीएच सेवा ‘एनटी फाइबर’ बिस्तार गर्न माग गरेका छन् । एनटी फाइबर सेवा बिस्तार नहुँदा गाउँपालिकाले महंगो रुपमा नीजि कम्पनीको वाईफाई जडान गरेर काम गर्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए ।
नेपाल टेलिकमको एनटी फाइबर बिस्तारका लागि दोगडाकेदार गाउँपालिकाले पहल गरेको भएपनि कुनै सुनुवाई भएको छैन् । गाउँपालिकाले टेलिकमलाई लिखित रुपमै एनटी फाइबार बिस्तारका लागि पत्र पठाएको भएपनि हालसम्म कुनै जानकारी नआएको दोगडाकेदार गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनकबहादुर विष्टले बताए । यता नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका सहायक प्राविधिक अधिकृत गोविन्द अवस्थीले दोगडाकेदारमा एनटी फाइबर बिस्तारका लागि बजेटको कमी भएर काम गर्नु नसकेको बताए ।