बैतडी–पालिकास्तरीय पार्टी प्रशिक्षणमा जुटेको एमाले बैतडीले सातओटा पालिकामा प्रशिक्षण सम्पन्न गरेको छ ।
स्थानीय पार्टी पंक्तिलाई बलियो बनाउन र संगठन सुदृढीकरणका लागि प्रशिक्षण सञ्चालन गरिएको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । पार्टीको निर्णय अनुसार १० ओटै पालिकामा दुई दिने पार्टी प्रशिक्षण सञ्चालन भइरहेको उनले बताए ।
गएको भदौमा दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा प्रशिक्षण सम्पन्न गरेको एमालेले जनाएको छ ।
यस्तै पुर्चौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकामा प्रशिक्षण सम्पन्न भइसकेको छ भने शिवनाथमा बुधबार प्रशिक्षण सकिने उपाध्यक्ष भण्डारीले बताए ।
एमालेको नीति, विधि र विधानका बिषयमा स्थानीयस्तरका कमिटिहरुलाई जानकारी दिन पालिकाहरुमा प्रशिक्षण अभियान सञ्चालनमा रहेको एमाले बैतडीकी प्रचार विभाग प्रमुख पार्वती भट्टले बताइन् ।
सबै पालिकाहरुमा यो महिनाभित्र प्रशिक्षण सक्ने कार्यतालिका रहेको एमालेले जनाएको छ । दोगडाकेदारमा मंसिर २१ र २२, डिलाशैनीमा मंसिर २३ र २४ तथा सिगास गाउँपालिकामा मंसिर २६ र २७ गते प्रशिक्षण अभियान सञ्चालन हुने उनले बताइन् ।
प्रशिक्षण अभियानका लागि एमाले जिल्ला अध्यक्ष नरेश विक, उपाध्यक्ष लोकेन्द्र भण्डारी, पार्टी प्रचार विभाग प्रमुख पार्वती भट्ट लगायतका नेता कार्यकर्ताहरु खटिएका छन् ।