बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं –४ भित्र रहेका २ सय ३५ जना किशोरीहरुको रक्त अल्पता परीक्षण गरिएको छ ।
भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र रहेका विद्यालयहरुमा पुगेर १० देखि १९ बर्षसम्मका किशोरीहरुको रक्त अल्पता परीक्षण गरेको हो ।
वडा नं ४ भित्र रहेका उदयदेव मावि पालिगडा, पञ्चदेव आधारभूत विद्यालय वसन्तपुर र राष्ट्रिय मावि फाटिगडामा किशोरीहरुको रक्त अल्पता परीक्षण गरिएको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले जानकारी दिए ।
रक्त अल्पता परीक्षणका क्रममा २ सय १३ जना किशोरीमा रगतको मात्रा सामान्य रहेको र २२ जनामा केही कम देखिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।
किशोरीहरुको रगत संकलन गरेर उनीहरुको शरीरमा आवश्यकता अनुसार रगत भएको नभएको कुरा प्रयोगशालामा चेकजाँच गरिएको हो । शरीरमा आवश्यक मात्रामा रगत नभएको अवस्थालाई रक्त अल्पता भन्ने गरिन्छ ।
किशोरीहरुमा रक्त अल्पता हुँदा भविष्यमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने भएकाले स्वास्थ्यचौकीले आफ्नै पहलमा किशोरीहरुको रक्त अल्पता परीक्षण गरेको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।
रक्त अल्पता देखिएका किशोरीहरुलाई खानपानमा सुधार गर्नुपर्ने सुझाव दिइएको छ भने रक्त अल्पताले पार्ने असरका बिषयमा जानकारी समेत दिइएको महराले बताए ।
यही मंसिर १६ देखि १९ गतेसम्म सञ्चालन भएको रक्त अल्पता परीक्षण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई पोषिलो खानेकुराका बिषयमा समेत जानकारी दिइएको छ ।
नेपाल सरकारले किशोरीहरुमा रक्त अल्पता नहोस भनेर हरेक तीन–तीन महिनामा निशुल्क रुपमा आइरन चक्की वितरण गर्दै आएको छ ।
राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार १० देखि १९ बर्षसम्मका ४४ प्रतिशत किशोरीहरुमा रक्त अल्पताको समस्या रहेको छ । रक्त अल्पता भएका किशोरीहरुले भोलिका दिनमा बच्चा जन्माउँदा समस्या हुने, कम तौलको बच्चा जन्मने र उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या देखिने गर्दछ ।
किशोरीहरुमा रक्त अल्पता हुँदा महिनावारी अनियमित हुने, शारीरिक तथा मानसिक वृद्धि विकासमा असर हुने, कमजोरी महसुस हुने,खानामा रुचि नहुने लगायतका लक्षण देखा पर्दछन् ।