दार्चुला –दार्चुलामा सांग्रिला बैंकबाट चोरी गर्ने एकजना पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित सांग्रिला डेभलपमेन्ट बैंकको शाखाबाट बुधबार ८४ हजार ५ सय रुपैयाँ, सीसी टीभी क्यामेरा, खुकुरी लगायतका सामग्री चोरिएका थिए ।
बैंकमा चोरी भएको खबरपछि प्रहरीले खोजतलास गर्दा महाकाली नगरपालिका वडा नं –४ तल्लासैनका २३ बर्षीय तुसार लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले लुहारलाई बैंकबाट चोरिएको नगद र सामग्रीसहित उनकै घरबाट बुधबार नै पक्राउ गरेको हो ।
पक्राउ परेका लुहारलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।