बैतडी–बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दशरथचन्द क्रिकेट एकेडेमीले विजयी शुरुवात गरेको छ ।
आज सम्पन्न खेलमा साविक विजेता निङ्गलाशैनी क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै एकेडेमीले विजयी शुरुवात गरेको हो ।
जितका लागि पाएको १६८ रनको लक्ष्य एकेडेमीले २७.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि आयुश चन्दले अविजित ८८ रनको योगदान गरे । आयुश खेलका प्लेयर अफ द म्याच पनि चुनिए ।
बलिङतर्फ निङ्गलाशैनीका ऋषिकेश बोहराले चार विकेट लिए ।
यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनी ३८.५ ओभरमा १६७ रनमा समेटियो । उसका प्रशान्त भण्डारीले ४५ र गजेन्द्र बोहराले ३६ रन बनाए । एकेडेमीका निखिल चन्दले ३, विरेन्द्र चन्द,विशाल चन्द र दिनेश महराले २÷२ विकेट हात पारे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेबाट शुरु भएको प्रतियोगिता मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।
यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख नगद पुरस्कार दिइनेछ भने दोश्रो हुने टीमलाई नगद ५० हजार पुरस्कार दिइनेछ । यस्तै म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
गत बर्षको बिडिसिए कपको उपाधि निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो ।