बैतडी–सुदूरपश्चिममा ३ हजार ७ सय ४५ जना एचआइभी संक्रमित रहेका छन् ।
प्रदेशका ९ ओटै जिल्लामा ३ हजार ७ सय ४५ जना एचआइभी संक्रमितहरुले एआरटी औषधि सेवन गरिरहेका स्वास्थ्य निर्देशनालय दिपायलका एचआइभी फोकल पर्सन मनोज ओझाले जानकारी दिए ।
गएको मंगलबार कैलालीको धनगढीमा आयोजना गरिएको प्रदेशस्तरीय अन्तरक्रियात्मक छलफलमा सहभागीहरुले एचआइभी संक्रमितहरु अझै पनि खुलेर बाहिर आउन सक्ने अवस्था नरहेको बताएका छन् ।
स्वास्थ्य निर्देशनालयले एड्स हेल्थ केयर फाउण्डेसनको सहयोगमा आयोजना गरेको अन्तरक्रियामा एचआइभी संक्रमितहरुलाई उपचारको दायरमा ल्याउनका लागि अपनाउन सकिने उपायका बिषयमा छलफल भएको ओझाले बताए ।
अहिले सुदूरपश्चिमका ९ ओटै जिल्लामा एआरटी सेन्टरहरुमार्फत एचआइभी संक्रमितहरुलाई निशुल्क रुपमा औषधि उपलब्ध भइरहेको भएपनि कतिपय बिरामीहरु उपचारबाट वञ्चित भएको हुन सक्ने बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सर्वेश शर्माले सन् २०३० सम्म एचआईभी एड्स रोगको संक्रमण र मृत्युदर शून्यमा पुर्याउने लक्ष्य अनुसार काम भइरहेको बताए । यसका लागि तिनै तहका सरकारले समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।
एचआइभी रोकथाम, एचआइभीको औषधि आपूर्ती लगायतका बिषयमा डा. शर्माले जानकारी दिए ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमले एचआईभी संक्रमणको पहिचान, न्यूनीकरण तथा रोकथामका लागि प्रदेशका ९ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले सिमित स्रोत, साधनका बाबजुत पनि एचआईभी सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम चलाइरहेको बताए ।