बाजुरा –बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जिप दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ ।
एकजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृत्यु हुने कञ्चनपुरका ३१ बर्षीया गायत्री पन्त र कञ्चनपुरकै भीमदत्त नगरपालिका –१८ की ५२ बर्षीया राधिका भट्ट रहेका छन् । पन्तको घटनास्थलमा र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परेर तीनजना घाइते भएका छन् ।
घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन् ।
घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो । जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन् ।