Sagun Khabar
एमालेबाट विद्रोह गरेर चुनाव जिते, फेरि एमालेमै फर्किए 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका–५ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट एमालेमै फर्किएका छन् । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका भट्ट दुई बर्षपछि पुरानै पार्टीमा फर्किएका हुन् । आइतबार डिलाशैनीमा एमालेले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले एमालेमा प्रवेश गरेका हुन् । 

Atrya hospital

एमालेका तत्कालिन बैतडी अध्यक्ष एवं सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालसंग राजनीतिक तिक्तता बढेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनाव जितेका थिए । आइतबार पालसहितको उपस्थितीमा भट्ट एमालेमा फर्किएका हुन् । 

एमालेमा फर्किएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो राजनीतिक जीवनको खुसीको दिन भनेका छन् । यद्यपि स्वतन्त्रबाट चुनाव जितेर पार्टीमा फर्किनु राजनीतिक धोका भएको कतिपयले टिप्पणी गरेका छन् । 

तर भट्टले भने पार्टीमा फर्किएपछि स्थानीय सरकारका कामहरुलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सहज हुने दाबी गरेका छन् । उनले लेखेका छन्,‘डिलाशैनीको विकास र समृद्धिका लागि मैले तय गरेका लक्ष्य र योजनाहरु पूरा गर्न म संगै मेरो पार्टी पनि उभिनेछ । यसले मलाई थप सहज र सजिलो हुने महसुस गरेको छु ।’

यस्तै भट्टसंगै स्वतन्त्र समूहमा रहेका अन्य १२ जना पनि एमालेमा फर्किएका छन् । भट्टसंगै प्रजापति जोशी लगायतका व्यक्तिहरु एमालेमा फर्किएका हुन् । 

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट डिलाशैनी गाउँपालिका वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित बलबहादुर माल पनि एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य समेत रहेका माल सोमबार एमालेमा प्रवेश गरेका हुन् ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update