
बैतडी - बैतडीको पाटनमा सुरु भएको दुई दिने आँखा शिबिरको पहिलो दिन ३२१ जनाको आँखा परिक्षण गरिएको छ । नेत्रज्योती सघं गेटा आखाँ अस्पतालको आयोजना र डा. रुईत फाउण्डेशनको आर्थीक सहयोगमा बैतडीको आखाँ उपचार केन्द्र पाटनमा संचालन भएको शिविरमा महिला र पुरुष गरि ३२१ जनाको आँखा परिक्षण गरिएको हो ।
शुक्रबार देखि बैतडीमा रहेको गेटा आँखा अस्पतालको टोलिले दुरदराजका नागरिकलाई सेवाको पहुँच सम्म पुर्याउने उद्देश्यले सुदुर पश्चिमका पहाडी जिल्लामा शिविर संचालन गर्दै आइरहेको छ । बैतडीको पाटनमा दुई दिन सम्म संचालन हुने आँखा शिविरको पहिलो दिन आज १८२ जना महिला र १३९ जना पुरुषको आँखा परिक्षण गरिएको गेटा आँखा अस्पतालका निर्देशक नेत्र विशेषज्ञ डाक्टर सुरेश राज पन्तले बताए ।
यस्तै आखाँ उपचार केन्द्र पाटनमा संचालन भएको शिविरमा ८० जनाको मोतिबिन्दुको शल्यक्रिया गरीएको बताइएको छ । आज र भोलि दुई दिन सम्म संचालनमा रहेको उक्त शिविरमा पहिलो दिन आज आँखा परिक्षण गरिएका अन्य व्याक्तीलाई भने अवस्था अनुसार औषधि उपचार गरेर पठाइएको शिविर संयोजक नरेन्द्र राज बिष्टले बताए ।
नेत्र विशेषज्ञ डाक्टर सुरेश राज पन्तको नेतृत्वमा १२ जनाको टोलि सहित शुक्रबार देखि बैतडीमा रहेको नेपाल नेत्रज्योती सघं गेटा आखाँ अस्पतालको आँखा शिविरको टोलिले यस अघि बैतडीको दोगडाकेदार गाउँपालिकामा दुई दिने आँखा शिविरमा ४३८ जनालाई सेवा दिई सकेको छ ।
सुदुर पहाडका ग्रामीण भेगमा पुगेर दृष्टि विहिनलाई ज्योती दिदै आएको गेटा आँखा अस्पतालको घुम्ती शिविरले घर नजिकै बाट सेवा दिदा स्थानीय नागरिक निकै खुसी हुने गरेका बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का स्थानीय लबदेव अवस्थीले बताएका छन ।