बैतडी–बैतडीको सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष २५ गतेदेखि सञ्चालन हुने भएको छ । ८ औँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु अर्जुन माविको खेलमैदान गाँजरीमा पौष २५ देखि२८ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सन्दर्भमा सोमबार र मंगलबार १५ ओटा माध्यमिक विद्यालयका खेल शिक्षक र एक ÷ एक जना छात्र छात्राहरुलाई दुई दिने प्रशिक्षण दिइएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताए । पालिकास्तरीय प्रतियोगितामा सञ्चालन हुने खेलहरुका बारेमा प्रशिक्षण दिइएको उनले बताए ।
यो बर्षदेखि छात्रछात्रा दुवैतर्फ कबड्डीमा समेत भाग लिने तयारी भएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।
दुई दिने प्रशिक्षण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशी र एथलेटिक्स प्रशिक्षक शरदसिंह ठगुन्नाले प्रशिक्षण दिएका हुन् ।
राष्ट्रपति रनिङ शिल्डका लागि आन्तरिक तयारीमा लाग्न पालिकाभरीका विद्यालयहरुलाई आग्रह गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलहरु सञ्चालन हुने छन् ।
गत बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगासकै देवकी कुमारी धामीले दौडमा पालिका हुँदै जिल्लामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।