Sagun Khabar
बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि त्रास बढ्यो 
फोटो : दशरथचन्द नगरपालिका –२ कुमालीगाडमा पासोमा फसेको चितुवा । उक्त चितुवा पासो चुँडालेर भागेको छ ।

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा चितुवाको त्रास बढेको छ । पासोमा परेको चितुवा पासो चुँडालेर भागेपछि स्थानीयहरु चितुवाले आक्रमण गर्न सक्ने भन्दै त्रसित बनेका हुन् । 

दशरथचन्द नगरपालिका –२ देहीमाण्डौं कुमालीगाडमा सोमबार रातिको समयमा चितुवा पासोमा फसेको थियो । बालीनाली जोगाउन जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

सोमबार राति फलामको तारको पासोमा फसेको चितुवा समयमै उद्धार हुन नसक्दा पासो चुँडालेर भागेको छ । चितुवाको घाँटीमा पासो परेको थियो । उक्त चितुवाको घाँटीमा ठूलो घाउ भएकाले घाइते चितुवाले आक्रमण गर्न सक्ने भन्दै स्थानीयहरुमा त्रास बढेको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उद्धार टोली ढिलो आएका कारण चितुवा भागेको स्थानीय मनोज बोहराले बताए । घाइते चितुवा भागेकाले आक्रमणको डर भएको उनले बताए । 

पासोमा परेर घाइते भएको चितुवा भागेकाले स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

यसअघि गएको असोज ११ गते दशरथचन्द नगरपालिका–१ खालमा चितुवा पासोमा परेको थियो । उक्त चितुवा पनि भोलिपल्ट असोज १२ गते पासो चुँडालेर भागेको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update